काठमाडौं । अभिनेता नाजिर हुसेन आफ्नी दिवंगत आमालाई सम्झिएर भावुक बनेका छन् । आमालाई सम्झिएर धेरै कविता कोर्ने गरेका नाजिरले जन्मदिनमा उनैलाई सम्झिएर भावुक बनेका हुन् ।
नाजिरकि आमाको आज ५१औँ जन्मदिन हो । उनी आमाको धेरै नजिक थिए । अन्तर्वार्ताका क्रममा पनि आमाकाे प्रसंग चल्दा नाजिरकाे आँखामा आँशु छल्किने गर्छ । उनी आमालाई सम्झिरहन्छन् । उनलाई आमा यतै कतै, उनकै वरिपरि भएकाे अनुभुति हुने गर्छ ।
आमालाई सम्झिएर उनले लेखेका छन् –
प्रिय मीना बेगम
तपाईको ५१ औँ जन्मदिनको दिन को कुरा हो , मैले के उपहार दिउँ त आमा भन्दा ?
मलाई एक पल्ट हवाइ जहाज चडाएर राजधानी लग्देन कान्छा भन्नु भएको थियो ।
राजधानी नदेखेको यो १६ वर्षे ठिटोले कागजमा तपाईको नाम लेखेर, हवाइ जहाज बनाएर आँगनमा उडाउदा गद गद हाँस्नुभएको अझै पनि मेरो मस्तिष्कमा ताजै छ ।
मैले हाँसिरहेको तपाईलाई देख्दा – मलाई त्यै बेला पाइलट बन्न मन थियो ।
मेरो उमेर पनि तलाई लागोस् है कान्छा !
हेर्नु त म आज हाम्रो घर पछाडीको बाँसको बोट जस्तै अग्लिएको छु, निहुरीएको छु ।
आफ्नो उमेर पनि मलाई दिने प्रिय आमा जी
तपाईँलाई जन्मदिनको अमर शुभकामना
तपाईँ सधैँ यतै कतै म संगै हुनुहुन्छ …




