काठमाडौं । माेडल निशा घिमिरेकाे निधन भएकाे छ । भारतमा दुर्घटनामा घाइते भएकी निशाकाे नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
दुर्घटनापछि गम्भीर अवस्थामा घरमै रहेकी उनकाे नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । उनकाे उपचारका लागि ५० लाख खर्च भएकाे पनि नर्भिकले मंगलबार जानकारी दिएकाे थियाे ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

दुर्घटनापछि निशाको ब्रेन निक्कै ड्यामेज भएको र लामो समयसम्म उपचारविहिन अवस्थामा राखिएकाले पनि अहिले सबै कोशिशका बाबजुत अवस्थामा अपेक्षित सुधार नआएको मंगलबार पत्रकार सम्मेलनका क्रममा उनकाे उपचारमा संलग्न डाक्टर पंकज जलानले बताएका थिए ।
३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । उनको दुर्घटना लगतै केही समय भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो । तर, विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।




