एजेन्सी । बलिउड कलाकार तथा ‘बीग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । उनकाे निधनले बलिउड पुरै शाेकमग्न छ ।
अभिनेता सलमान खान पनि यतिबेला शोकमा छन्, उनलाई सिद्धार्थको निधनले झड्का लागेको छ । सिद्धार्थको निधनमा प्रतिक्रिया जनाउँदै सलमानले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् – ‘निकै चाँडो गयौ सिद्धार्थ । तिमीलाई याद गरिनेछ । परिवारप्रति मेरो संवेदना । भगवान, उनको आत्मालाई शान्ति देऊ ।’
‘बिग बोस सिजन १३’ मा सिद्धार्थ हाइलाइटमा थिए । शो मा उनलाई सलमान खान धेरै पटक गाली गरेका थिए । सलमानले धेरै पटक उनलाई रिस नियन्त्रण गर्न सुझाव दिएका थिए । सलमान र सिद्धार्थबीच राम्रो मेलमिलाप पनि शो मा देखिएको थियो । सलमान कहिले उनलाई गाली गर्थे त कहिले मस्ती, मजाक गर्थे ।
कलाकार शुक्लाकाे हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ४० वर्षीय शुक्लाको पार्थिव शरीर अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि अन्त्येष्टि गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।
सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए । उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’ को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।




