नयाँ दिल्ली । गुजरातको सूरतमा ब्रेनडेड भएका दुई बाल्यकालका साथीले आफ्नो मृत्यु पश्चात १२ जनाको जीवन बचाएका छन् । ब्रेनडेड भएका दुवै साथीका परिवारले गुजरातमा रहेको डोनेट लाइफ संस्थाको माध्यमबाट अंगहरु दान गरेका थिए । सूरतको अस्पतालमा १३ अंग दान भएको यो पहिलो घटना हो ।
सूरतका १८ वर्षीय मीत पाण्डे र क्रिश गानधीको २४ अगष्टको राति सूरतको शहरमा रहेको गोयंका स्कूल नजिकै दुर्घटना भएको थियो । दुवै जनालाई पीपलोद इलाकाको एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारमा लगिएका उनीहरुको ब्रेनडेड भएको चिकित्सकले बताएका थिए । डोनेट लाइफ संस्थाले उक्त जानकारी पाएपछि अस्पताल पुगेर अंग दान गर्न भनेका थिए । ती युवकहरुको परिवार अंग दान गर्न तयार भएका थिए । त्यसपछि परिवारले आफ्नो सन्तानको मिर्गौला, कलेजो, फोक्सो, मुटु र आँखा दान गरेका थिए । जसकारण एकैपटक १२ जनाले नयाँ जीवन पाए ।
१२ कक्षामा अध्ययनरत मृतक क्रिशको २४ अगष्टमा जन्मदिन थियो । जन्मदिन मनाएपछि राति मोटरसाइकलमा घर फर्किने क्रममा कारले ठक्कर दिएपछि उनीहरु घाइते भएका थिए । प्रहरीले कार चालक कपडा व्यापारी रिजवन शेखलाई पक्राउ गरिसकेको छ ।
उनीहरुको अंग पछिल्लो डेढ वर्षदेखि अक्सिजनको सपोर्टमा रहेका ५४ वर्षीय पुरुष, २१ वर्षीय युवती, ५५ वर्षीय पुरुष, ४७ वर्षीय शिक्षकको शरीरमा ट्रान्सप्लान्ट गरिएको छ । यस्तै दुई मिर्गौला आवश्यक परेका व्यक्तिलाई ट्रान्सप्लान्ट गरिनेछ ।






