एजेन्सी । ‘बीग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधनपछि उनकि प्रेमिका शहनाज गिलकाे स्वास्थ्य अवस्था बिग्रिएकाे छ ।
सिद्धार्थकाे बिहीबार निधन भएकाे थियाे । उनकाे निधनकाे असर प्रेमिका शहनाजमाथि परेकाे हाे । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उनले आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’
सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । ‘बीग बोस १३’ बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको बताएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निकै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाँडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।




