काठमाडौं । कलाकार निशा घिमिरेको निधन भएको दुई दिन भयो । तर उनको मृत्यु रहस्यमय भएको भन्दै अझै पनि चर्चा हुने भइरहेको छ । कतिले भने उनको मृत्युको विषयमा छानविन हुनुपर्ने माग समेत उठाइरहेका छन् ।
अभिनयको कोर्स गर्न भनेर हिँडेकी निशा देहरादुन कसरी पुगिन् ? कसले पुर्यायो उनलाई त्यहाँ ? निशा चढेको गाडीलाई जुन गाडीले ठक्कर दियो, त्यो गाडीलाई सामान्य क्षति मात्र हुनु र उनी चढेको गाडी भने कच्याक कुचुक हुनु ! यो रहस्यमय नै छ ।
नेपालमा गाडी दुर्घटना हुँदा सामान्य क्षति हुँदा पनि सम्बन्धित पक्षले क्षतिपूर्ति दिने चलन छ । तर त्यहाँ त्यस्तो क्षतविक्षत हुँदा पनि क्षतिपूर्ति कति पनि पाएनन् उनको परिवारले । त्यहाँको प्रहरी प्रशासन पनि यो विषयमा मौन छ, बोल्नै चाहँदैन । त्यसैले पनि यो घटनालाई रहस्यमय रुपमा हेरिएको सञ्चारकर्मी प्रकाश सुवेदीले बताए । उनले स्थानीय प्रहरीले समेत केस नबनाउनुको पछाडि ठुलै षडयन्त्र हुन सक्ने बताएका छन् । यसको खोजीनिती हुन जरुरी रहेको उनको भनाइ छ ।
निशाकि दिदी उषाले आफ्नो बहिनीको मृत्युको पछाडि धेरैको हात रहेको आशंका गरिन् । विक्की भनिने भारतीय नागरिकसँग भारत गएको उनले बताइन् । उनीसँग रिया खड्का भन्ने युवती पनि गएको उनले जानकारी गराइन् । निशाको मृत्यु असहज रहेको उनको भनाइ छ ।
यस्तै कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले राज्यस्तरबाटै यस घटनाको छानविन गर्नुपर्ने धारणा राखे । उनले भनेका छन्, ‘यसको विधि र प्रक्रिया कसरी अगाडी बढाउने भन्ने कुरा बुझेर हामी यो केसलाई अघि बढाउँछौँ । तर सरकारले पनि यसमा रुचि देखाउनुपर्छ, सहयोग गर्नुपर्छ । घटनाको रहस्य पत्ता लगाउन सरकारी स्तरबाट नै पहल हुनु आवश्यक छ ।’
यस्तै निशाकाे ठुलोबुवा श्यामप्रसाद घिमिरेले उनको दुर्घटना भएको समयमा आफू देहरादुन पुगेको र त्यहाँको प्रहरीले कुनै सहयोग नगरेको बताए । उनले भने, ‘हामीले त्यहाँ उनको उपचारका लागि बिमा र दुर्घटनाको क्षतिपूर्ति पाउन धेरै कोसिस गर्यौँ । तर त्यहाँको पुलिसले हाम्रो कुरा पटक्कै सुनेन । उनको मोबाइल दिन पनि आनाकानी गर्यो । त्यसमा भएका म्यासेज पनि डिलिट गर्न खोजेको थियो । हामीलाई छलाउनलाई अनेक कुराहरु गर्यो, अनुसन्धानमा कुनै सहयोग गरेन ।’
निशा विगत तीन महिनादेखि नर्भिक अस्पतालमा उपचाररत थिइन् । भारतमा दुर्घटनामा घाइते भएकी उनको बुधबार साँझ ६ बजेर ५१ मिनेट जाँदा निधन भएको हो । उनको दाहसंस्कार बिहीबार बिहान गरिएको थियो । दाहसंस्कारमा सिमित कलाकारहरु मात्र उपस्थित थिए ।
दुर्घटनापछि गम्भीर अवस्थामा घरमै रहेकी उनकाे नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । उनकाे उपचारका लागि ५० लाख खर्च भएकाे पनि नर्भिकले मंगलबार जानकारी दिएकाे थियाे ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।
३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । उनको दुर्घटना लगतै केही समय भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो ।




