चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका ९ बसन्तचोकमा शुक्रबार बिहान एक ईभी (विद्युतीय) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा बिहान करिब ६ बजे सर्भिस लेनमा गुडिरहेका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
आगलागीको सूचना पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाएपछि गाडीभित्र पूर्ण रूपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
आगलागीबाट कार पूर्ण रूपमा क्षति भएको छ भने मृतकको पहिचान हुन बाँकी छ । घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान थालेको छ ।




