आफ्नो छोरा छोरीलाई केहि संकट पर्यो कि आँखाबाट आँशुका धारा सहित आफ्नो सन्तानलाई अँगालोमा बाँधेर रून्छिन् आमा । करूणामयी हुन्छिन् आमा, त्यसैले त आमा पूजनीय हुन्छिन् !
तर एउटा बुबाले आफ्नो छोरालाई कर्तव्य पथमा लगाउन, एक सक्षम नागरिक बनाउन,आफूले कैयौँ हन्डर र ठक्करहरू खाँदै अनेकौँ शारिरिक र मानसिक थकाइहरू भोग्दै, अनेकौँ अभावहरूका श्रृंखला चढ्दै गर्दा ओठमा सधै मुस्कान राखेर, भित्रभित्रै हजारौँ पल्ट रोएको हुन्छ । किनकि हाम्रो समाजले एउटा मान्यता स्थापित गरेको छ । ‘लोग्ने मान्छे भएर रून हुन्न रे..’
बुबाले झेलेको त्यो आन्तरिक पिडालाई हामिले देखेका हुदैनौँ, महसुस गरेका हुदैनौँ । ५ बर्षको उमेरमा आमा गुमाएको एउटा केटोलाई कुनै अभाव हुन नदिइ हुर्काएर, पढाएर लेखाएर आज आफ्नो खुट्टामा उभिने बनाउने मेरा बा । आमा जत्तिकै महान हुनुहुन्छ, पूजनीय हुनुहुन्छ ।
हाम्रा लागि जीवनभर दौडधूपमा खुट्टाको हड्डि खियाउने ती बुबाको मुख हेर्ने दिन आज हो । अत: पहिला बुबाको मुख होइन खुट्टा हेरौँ, खुट्टा छोऔँ, खुट्टा ढोगौँ अनि मात्रै मुख हेरौ ! सबै साथीहरूका आदरणिय बुबाहरूलाई नमन !




