काठमाडाैं । हिजा (साेमबार) मात्रै चलचित्र निर्देशक सुदर्शन थापाले मोडल तथा समाचार वाचिका सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरे । तर घनिष्ठ मित्र भनिएकी अभिनेत्री पूजा शर्माले भने उनकाे इन्गेजमेन्टकाे निम्ताे पाइनन् ।
निर्देशक थापाकाे इन्गेजमेन्ट समाराेहमा अभिनेता राज कटुवाल, वर्षा सिवाकोटी समेत उपस्थित थिए । पूजा निकट वर्षा समेत उपस्थित हुँदा उनी त्यहाँ नदेखिएपछि धेरैले विभिन्न टिकाटिप्पणी गरेका छन् । कतिपयले त सुदर्शनको इन्गेजमेन्ट पूजाले हेर्न नसक्ने भएका कारण उनी उपस्थित नभएकाे अड्कलबाजी समेत गरे ।
यद्यपी पूजाले भने सुटिङका कारण जान नभ्याएकाे दाबी गरिन् । साे दिन सङ्गीतकार अर्जुन पोखरेलको एक गीतको सुटिङमा व्यस्त हुँदा उपस्थिति जनाउन नपाएकाे उनकाे भनाइ छ । सुदर्शनले निम्ताे नदिएकाे कुरा पनि उनले बताइन् ।
उनले भनेकि छिन्, ‘म पनि सुदर्शन थापाको शुभचिन्तक हुँ । उहाँको सधैँ राम्रो होस् भन्ने चाहन्छु । मैले उहाँको जोडीलाई लाइभ नै देखेको छैन । फोटोमा हेरेकि थिएँ, राम्रो लाग्यो । निम्ताे चाहीँ आएन । सायद सुटिङमा व्यस्त हुन्छु भन्ने थाहा पाउनु भएरै निम्ताे नदिनु भएकाे हाेला !’
निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा बीच मित्रता घनिष्ठ छ । उनीहरूले थुप्रै प्रोजेक्टमा सहकार्य गरेका छन् । सुदर्शनले निर्देशक गरेको प्रायः फिल्ममा पूजा दोहोरिएकै हुन्छिन् । दुवैले मिलेर फिल्मसमेत निर्माण गरिसकेका छन् ।
एक समय यी दुई प्रेम सम्बन्धमा रहेकाे हल्ला पनि चलेकाे थियाे । तर दुवैले प्रेममा रहेकाे कहिल्यै पनि स्वीकार गरेनन् । केही पहिले त दुवैले एउटै गाडी पालोपालो समेत चढ्ने गरेका थिए । हुन त पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग पनि जाेडिएकाे थियाे । आकाशसँग पूजाकाे नाम जाेडिँदा दुवैबीच मनमुटाब भएकाे खबर बाहिर आएको थियो ।




