काठमाडाैं । अभिनेत्री ऋचा शर्माले आमा बन्दा परिपक्व भएकोझैँ आभास भएकाे बताएकी छिन् । बुधबार मात्रै आमा बनेकि उनले बिहीबार सामाजिक सञ्जालमा श्रीमान् र छाेरासँगकाे तस्वीर सेयर गर्दै पृथ्वी बोकेझैँ लागकाे बताइन् ।
यस्तै उनले सन्तानको आगमन सँगै आफू जत्तिको धनी मान्छे काेही छैन झैँ लागेकाे पनि उल्लेख गरिन् ।
उनी लेख्छिन् … –
आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिएँ । यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिएँ । तर आज शब्दको अभाव महशुस भइरहेको छ । भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफैँ केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएकोझैँ आभास भइरहेको छ । सोच्दा पनि पृथिवी बोकेझैँ लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ ।
अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिकाे महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ ।
जीवनमा आजसम्म के कति कमाएँ, लेखा–जोखा छैन तर आमाझैँ माया गर्ने सासु आमा हुनुहुन्छ, बुवाझैँ आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढी बुझिदिने दिने जीवनसाथी । आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झैँ लागिरहेको छ ।
बाटो लामो छ । एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब । यो यात्रामा तपाईँहरु सम्पूर्ण शुभचिन्तकहरुको सधैन माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु । छोरा आभ्यान बिक्रम राणाको तपाईँहरु सम्पूर्णलाई न्यानो माया ।




