काठमाडौं । भारतको केरलमा देखिएको निपा भाइरसको नेपालमा पनि जोखिम रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेर निपा भाइरसको महामारी नियन्त्रणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
महाशाखाले २४ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सातै प्रदेशका प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र, स्वास्थ्य आपतकालीन संचालन केन्द्र र सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयलाई बोधार्थ पठाएको पत्रमा नेपालमा पनि निपा भाइरसको जोखिम रहेको आल्याइएको छ ।
महाशाखाले सम्बन्धित निकायसँगको बैठकपछि सतर्कता अपनाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो । निर्देशनमा कुनै बिरामीको तीव्र रुपमा स्वास्थ्य अवस्था बिग्रिएमा वा मृत्यु भएका तत्काल ‘अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (ईवाईआरएस)’ मार्फत जानकारी दिन भनिएको छ । अहिले भारतको केरलमा निपा भाइरसको संक्रमण देखिएको छ ।
निपा भाइरसबाट एक जना १२ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको छ । केरल सरकारले नै निपाबाट बालकको मृत्यु भएको सार्वजनिक गरेको हो । यससँगै केरलमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । त्यस्तै, केन्द्र सरकारले पनि भारतभर स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ ।
निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको थियो । यो सुगुरबाट मान्छेमा सरेको थियो । त्यसपछि मान्छेबाट मान्छेमा सर्ने गरेको पाइएको छ । यसको अहिलेसम्म खोप बनेको छैन । यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ ।







