काठमाडाैं । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेर नेपाल प्रवेश गर्न नपाएपछि त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । शाे जितेकाे केही सातापछि अमेरिका फर्किएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न राेकेकाे हाे ।
नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएका किरण विगत १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा अमेरिका पुगेका थिए । भुटानी शरणार्थी शिविरबाट उठेर किरणले गायन क्षेत्रमा आफ्नो नयाँ परिचय बनाइरहेका छन् ।
‘द भ्वाइस अफ नेपाल ३’ मा सहभागिता जनाउन नेपाल आएर शाे जितेर अमेरिका फर्किएका किरण पुनः नेपाल आउन नपाएका हुन् । किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए तर विमानस्थलबाटै फर्किए ।
किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले ‘ओभर स्टे’ वापत जरिवाना समेत तिरेका थिए । तर, यसपटक नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् ।




