एजेन्सी । बालबालिकाहरु सबैभन्दा धेरै समय आफ्नो अभिभावकसँग बिताउँछन् र उनीहरुले भन्दा धेरै कुरा सिक्छन् । राम्रो होस् या नराम्रो, उनीहरुका लागि सबै कुराको उदाहरण आमा बुवा नै हुन् ।
अभिभावक आफ्ना सन्तानलाई राम्रा तथा सही कुरा सिकाउनमा पुरै जीवन लगाउँछन् । तर अन्जानमा बच्चाहरु नराम्रा कुरा पनि आफ्ना अभिभावकबाट सिक्छन्, जुन कुरामा अभिभावकले ख्याल गरेका हुँदैनन् । यसले बालबालिकामा गम्भीर असर पर्न सक्छ । अभिभावकले के कस्ता कुराहरु बालबालिकाको अगाडी गर्दा असर गर्छ त ?
बहस गर्नु : यदि तपाईँको बच्चाले घरमा हरेक दिन बहस, झैझगडा भएको देख्छ, तब उसको व्यवहार हिंस्रक हुँदै जान्छ । घरमा हुने लडाईँ झगडामा बच्चा कहीँ न कहीँ आफूलाई पनि दोषी देख्छ । यदि अभिभावक आपसमा कुनै कुरालाई लिएर विवाद गर्छन् भने उनीहरुले बच्चाको अगाडी नै ती सुल्झाउने प्रयास पनि गर्नुपर्छ । यसबाट बच्चाले कुनै कुरा शान्त तरिकाले पनि सुल्झाउन सकिन्छ भन्ने बुझ्छ ।
कुटपिट : घरमा हुने कुनै पनि हिंसाले बालबालिकालाई दीर्घकालीन रुपमा असर गर्न सक्छ । हिंसाले उनीहरुमा शारीरिक वा मानसिक असर पर्न सक्छ । बालबालिकाहरु दुव्र्यवहार गर्न सबैभन्दा पहिले आफ्नो बच्चासँग नै सिक्छन् । यस्ता बच्चाहरु ठुलो भएपछि ड्रग्स वा अल्कोहलको कुलतमा फस्ने सम्भावना रहन्छ ।
कडा अनुशासन : आमा बुवा आफ्नो बच्चालाई अनुशासन सिकाइरहेका हुन्छन्, यसले पनि बच्चाको व्यवहारमा परिवर्तन ल्याउँछ। जब अभिभावक बच्चालाई जबरजस्ती कुनै कुरामा दबाब दिन्छन् तब बच्चाको व्यवहारमा परिवर्तन आउन सुरु हुन्छ। उनीहरु विस्तारै विस्तारै आफ्नो अभिभावकबाट टाढा हुन थाल्छन् । कठोर अनुशासनमा बच्चा आक्रामक हुन्छ, जसले उनीहरुको मस्तिस्कमा नकारात्मक असर पर्छ ।






