विशेष रोग लागेको अवस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम पार्किन्सन्सजस्ता समस्या बाहेक कब्जियत हुने मुख्य कारण अप्राकृतिक जीवनशैली नै हो । भोजन, व्यायाम, विश्राम, विचार र भावनात्मक रूपमा असन्तुलित जीवन बिताउनु नै अप्राकृतिक जीवन हो ।
भोक लागेको बेला नखाने, भोक लागेको भन्दा बढी खाने, गरिष्ठ भोजनहरू, मसिनो मीठो, तारे भुटेको, पचाउन कठिन हुने, जङ्कफूड, बट्टाबद्ध खाना र संरक्षित खाद्यान्न खाइरहने, सागसब्जी सलाद जस्ता खस्रा मोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावना रहन्छ । व्यस्तता, भाग दौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका रोगीहरूमा कब्जियतको समस्या बढी देखिने गर्छ ।
कब्जियत हुँदा मल त्याग गर्ने समयको अन्तरमा ढिलाइ हुन्छ । मल त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटा पर्नु, अपान वायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु, मुख बिग्रिनु, रिँगटा लाग्नु, तिघ्राको पछाडि पट्टिको मांसपेशीहरू दुख्नु, टाउको दुख्नु , छाती पोल्नु र थाकेको महसुस हुनु लगायत यसका लक्षणहरू हुन् ।
विशेष रोगावस्थाका कारणले कब्जियत भएको भए रोगको उचित निदान गरेर रोग निर्मूल पार्नेतिर लागौँ । गलत आहार विहार र जीवनशैली भएकाहरूले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अङ्ग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्न लिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ।
कब्जियत भएकाहरूले साँझको खानामा अन्नलाई समावेश नगरेर फलफूल, तरकारी र झोलिलो कुरालाई मात्र समावेश गर्ने गर्दा कब्जियतको समस्या हटाउन सजिलो हुन्छ। बिहानको नास्तापूर्व कुभिन्डो वा लौकाको जुस खाने गर्दा यो रोगको लागी अत्यन्त राम्रो गर्दछ ।
ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गर्नुहाेस् । बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहुँको वा मकैको पिठोको रोटी, काउली, बन्दा, घिरौँला र बेथेको सागलाई खानामा विशेष रूपमा समावेश गर्नुहोस् । मास र खेसरीको दाल बोक्रै सहित पकाएर खानाले पनि कब्जियतको समस्या कम गर्न सहयोग गर्छ ।
बेलुकाको भोजनमा अन्नलाई समावेश नगरेकै राम्रो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग मोही मात्र खाँदा कब्जियतलाई कम गर्छ । माछा, मासु, अन्डा, घ्यू, पनिर, दूध, मक्खन र मैदाबाट बनेका खानेकुराहरू सकभर खानै हुँदैन । केरा, अङ्गुर, लिची जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, भन्टा, चुकन्दर, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नै राम्रो भने बेलुका नखानु नै राम्राे हुन्छ ।
दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अङ्ग बनाउनुस् । शरीरको व्यायाम, रीढ व्यायाम, शिथिल करण व्यायाम, प्रातःभ्रमण जस्ता ब्यायमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पुर्याउँछ । भोजनको समय निश्चित गरी नियमित सोही समयमै भोजन गर्ने गर्नुस् । रातीको भोजन सकभर सुर्यअस्त आसपासको समयमा होस् ।
भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्ये एक हो । भोजन गर्दा खुब चपाई चपाई खाने गरौँ । भोजनको समयमा बातचित गर्ने, उठी उठी वा टिभी, कम्प्युटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियतको समस्या बढी हुने गरेको पाइएको छ ।
खानामा मौसमी तथा स्थानीय अन्न तथा सागसब्जीहरूलाई विशेष रूपमा समावेश गर्नुहोस् । काँचो सागसब्जी, सलाद तथा रेसादार फलफूलहरूको सेवनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।




