बर्दियामा बाढीका कारण ९६० घर प्रभावित
बर्दिया । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् ।
राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ । गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । कर्णाली नदीको पानीले खतराको तह पार गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले स्थानीयको उद्धार गरेका छन् ।
बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु
उदयपुर । आज बिहानदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका– ५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले एक ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बाढीले बगाएर मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । खड्का आज बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो भने खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ ६ः३० बजे एक किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको प्रहरीले बताएको छ ।
अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भएको जिल्ला प्रहरी उदयपुरले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।
वर्षात्ले डुबायो धान
राँझा । दसैँको माहोल सकिन नपाउँदै सुरु भएको बेमौसमी वर्षात्ले बाँकेका किसानको खुसी धानसँगै डुबाएको छ । आइतबारदेखि लगातार परिरहेको वर्षात्ले खेतमा पाकेको धान डुबाएको छ । खेतमा पाकिसकेको धान वर्षाद्का कारण स्याहार्न नपाइ ठूलो क्षति भएपछि दसैँ मनाउँदै गरेका किसान चिन्तित हुन पुगेका छन् ।
नियमित वर्षा भइरहेकाले किसानले खेतमा काटेको धान पानीले डुबाएको छ । हावाहुरीसहितको वर्षा हुँदा नकाटेको धान पनि पुरै ढलेर नोक्सानी भएको राप्तीसोनारी गाउँपालिका– ७ फत्तेपुरका किसान लालबहादुर थापाले बताए । ‘हावाहुरीसँगै आएको पानीले पाकेको धान सबै डुबाएर ठूलो नोक्सानी पुगेको छ’, थापाले भने, ‘पानी परिरहेकाले धान स्याहार्न पाइएको छैन, ढलेको धान कुहिन थालिसकेको छ । बीउ जोगाउन पनि गाह्रो हुने भयो ।’
पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध
लमजुङ । लमजुङ मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ । सोमबारदेखि परेको अविरल वर्षाले आज यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए ।
उनले भने, ‘नियाँलो भन्ने ठाउँमा सडक नै बगाएको छ । खोत्रोमा सडक माथिबाट आएका पहिराले अवरुद्ध बनाएको छ भने दाना क्युमासमेत सडक बगाएको छ ।’ खरखरे भिर, रामबजार, घोप्टेभिरलगायत स्थानमा सानासाना पहिरा खसिरहेका छन् । विभिन्न ठाउँमा पहिराले अवरुद्ध बनाएकाले कुन ठाउँमा कति क्षति बनाएको भनेर सबै स्थानमा पुग्न नसकेको उनको भनाइ छ ।
सुदूरपश्चिममा अविरल वर्षा : तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको छ । यस्तै वर्षाका कारण डोटी जिल्ला सायल गाउँपालिका–६ मेल्लेक गाउँका वीरबहादुर कुन्जेडाको घर भत्किँदा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डडेलधुराको अमरगढी नगरपालिका–१ मा पहिरो खस्दा स्थानीयवासी भीम रावलको पक्की घरमा पूर्णरूपमा क्षति पुगेको छ । उक्त घटनामा देवकी रावल र ग्रिस रावल घाइते भएका छन् । सोही घरको गोठमा पशु चौपाया, खाद्यान्न र भाँडावर्तन, लत्ताकपडा पुरिएर क्षति पुगेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका पदमबहादुर शाहीको गोठमा परेको चट्याङका कारण पशु चौपाया मरेका छन् ।
डोटीको सायल गापामा भएको घटनामा विन्दा कुन्जेडा, वीरबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा घाइते हुनुभएको छ । कैलालीको खुटिया नदीमा आएको बाढीमा गोदावरी नगरपालिका–८ का गणेश आउजी नदीमा बेपत्ता भएका छन् । खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
यता कैलालीको मोहन्याल गाउँपालिका–४ को ठूलीगाड नदीमा सोमबार साँझदेखि फसेका स्थानीयवासी ५० वर्षीय लोकबहादुर बुढामगर र उनकी पत्नी ४७ वर्षीया पिर्मादेवी मगरको मङ्गलबार दिउँसोसम्म उद्धार हुन सकेको छैन । उद्धारका लागि आएको हेलिकप्टर खराब मौसमका कारण घटनास्थलमा पुग्न नसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिका चेतन खड्काले जानकारी दिए ।
उक्त नदीको बाढीका कारण भीमदत्त नगरपालिकाको ओदाली गाउँमा १५० घर डुबानमा परेपछि प्रहरीको उद्धार टोली परिचालन गरिएको छ । यस्तै दोधारा–चाँदनी नगरपालिका–१० को शान्ति टोल, बैदीफाँट, निशानी टोलमा समेत गरी ७० घर डुबानमा परेपछि खटिएको प्रहरी टोली उद्धार कार्यमा जुटेको छ ।
आइतबार रातिदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेशको धान उत्पादन हुने मुख्य क्षेत्र कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलको धानबाली नष्ट गरेको छ । बाली काटेर भित्र्याउने समयमा अचानक भएको वर्षाले काटेर खेतमै सुकाइएको धानबाली बगाएपछि नष्ट भएको हो । दुवै जिल्लाको अधिकांश क्षेत्रको धानबाली डुबानमा परी क्षति पुगेको छ ।
मोहना नदीको बहाव मापन गर्न खटिनुभएका मानबहादुर चौधरीले भने,‘तीन दिनअघि मात्रै काटेर खेतमै सुकाइराखिएको नदी आसपासको खेतकोे पूरै बाली मोहनाको बाढीमा बगेर क्षति पुगेको छ ।’ दुवै जिल्लाको होचो भागको खेतमा काटेर सुकाइएको धान खेतमा तीन/चार फिटसम्म पानी जमेको छ ।
थलारा पहिरो : २३ बेपत्ताको अवस्था अझै अज्ञात, बसपार्क बगायो, राजमार्ग, विद्युत् र सञ्चार सेवा अवरुद्ध
बझाङ । थलारा गाउँपालिका–४ डिख्लामा मङ्गलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, शर्मिला, पम्मा, सुवास, विकास, एक जना नाम नखुलेका रहेका छन् भने मदन (सरस्वती मावि पीपलगडाका शिक्षक) कलुदेवी र एलिसा सार्की गरेर १८ जना छन् । यस्तै नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर पाँच जना रहेका छन् ।
यस्तै लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।
धरानमा पहिराले घर पुरिँदा दुई बालबालिकाको मृत्यु
धरान । सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।




