काठमाडौं । विराटनगर विमानस्थल भाेलि (बिहीबार) साँझ ५ बजेसम्म बन्द हुने भएकाे छ । अविरल वर्षाका कारण आएको बाढी पसेर पसेपछि हिजाेबाट बन्द गरिएकाे विमानस्थल भाेलि मात्रै खुल्ने भएकाे हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको छ । सोही अनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरेका छन् । यसअघि बुधबारका लागि निर्धारित उडानहरुसमेत रद्द गरिएका छन् । यो विमानस्थल नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिन्छ ।
यता, विमानस्थलमा बाढी पस्दा सोही विमानस्थलमा रोकिएका दुई जहाज समेत विराटनगरमै अड्किएका छन् । बुद्ध एयरको एक जहाज र श्री एयरलाइन्सको एक जहाज विराटनगरमा रोकिएका छन् । ती जहाज समेत अब बिहीबार साँझ ५ बजेसम्म रोकिने भएका छन् ।
विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ । यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।
खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलायन्सको सीआरजे विमान मंगलबार राति काठमाडौं फर्किन नसकेर त्यहीँ ‘नाइट–स्टपमा’ मा परेका थिए । पानीबाट जोगाउन बुधबार बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको थियाे । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।
मंगलबार सय वटा आन्तरिक उडान रद्द भएकाे थियाे । खराब मौसमका कारण मंगलबार काठमाडौंबाट जाने र फर्किने गरी १ सय वटा आन्तरिक उडान रद्द भएका हुन् । त्यस्तै पोखरा–जोमसोमका लागि तय भएका ६ वटा र नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा तय गरिएका २८ वटा उडान रद्द भएका थिए ।




