काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आज (आइतबार) का लागि बाेलाइएकाे प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।
आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ । गृहकार्य नपुगेको भन्दै प्रदेश १ कांग्रेसले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरेकाे हाे ।
गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरिएकाे काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
कतिपयले आजको बैठकमा काँग्रेस र एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि त्यसलाई रोक्न बैठक स्थगित गर्न माग गरेका हुन् । कांग्रेसले सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।






