काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे सिआईबीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ । आज (साेमबार) बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए ।उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।
अफगान नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।




