काठमाडौं । असोज ११ गतेको बुद्ध एयर ‘ल्याडिङ’ प्रकरणबारे छानविन गर्न गठन गरिएकाे टाेलीले चालक दलकै दोष देखाएको छ ।
वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले जहाजको ल्याण्डिङ गियर सबै खुलेको, ‘डिम–लाइट’ मोडमा रहेको बत्ती दिउँसो विमानको बत्तीको ‘ब्राइटनेस’ बढाउनुपर्नेमा नबढाइएको पाइएको औंल्याएको छ । उक्त दिन बुद्ध एयरको विमानमा कुनै समस्या नदेखिएको, ल्याण्डिङ गियर पनि ठीकै भएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी ल्याण्डिङ गियर नखुलेको सन्दर्भमा चालक दल झुक्किएको प्रतिवेदनमा भनिएको छ । तर, पांग्रा खुलेन भन्ने कुरा झूठो र पाइलट झुक्किएको प्रतिवेदनमा उल्लेख छ । पाइलटले जहाजभित्र रहेका रातो, हरियो, नीलो, पहेंलो र सेतो रङका संकेत बत्तीलाई प्रयोग गर्न नजान्दा जहाजले अवतरण गर्न नसकेको प्रतिवेदनमा भनिएको छ ।
छानविन समितिले उक्त घटनाको मुख्य दोषी क्याप्टेन शेर्पालाई मुख्य देखाएको छ भने इजाजत तीन महिनाका लागि र प्राधिकरणमा रहेको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरेको छ । क्याप्टेन शेर्पाले बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा र शेर्पासँगै उडानमा रहेका को–पाइलट अमन अन्सारीले ५० घण्टा अनिवार्य उडेपछि मात्रै प्राधिकरणले उनीहरूलाई उन्मुक्ति दिने भनिएको छ ।
असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । त्यसपछि विराटनगरबाट काठमाडौं नै फर्काइएको थियो । काठमाडौं फर्केपछि पनि जहाज अवतरण गर्न सकेन । जहाजमा ७३ यात्रु रहेका थिए ।




