काठमाडाैं । जुवा खालबाट एमाले र कांग्रेस नेतासहित ८ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा कौडा खेलिरहेको अवस्थामा एमाले र कांग्रेस नेतासहित ८ जना पक्राउ परेका हुन् ।
छापा मार्ने क्रममा आज (शुक्रबार) अपरान्ह ४ बजेतिर काैडा खेलिरहेका ८ जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार जुवा खालबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद भएको छ ।
पक्राउ पर्नेमा एमालेका नेता मानबहादुर रावत रहेका छन् । उनी तुलसीपुर ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज हुन् । यस्तै नेपाली कांग्रेसका नेता दीपु गिरी, सुरेन्द्र हमाललगायत अन्य पक्राउ परेका छन् ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।




