काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (सोमबार) राजीनामा दिने तयारी गरेका छन् । सोमबार दिउँसो १२ः३० बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिन लागेका हुन् ।
प्रदेशसभा बैठकमा उनले सरकारले गरेका कामबारे पनि जानकारी गराउने छन् ।
बैठकका लागि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंग्याउने कार्यसूची तय गरिएको छ । कांग्रेस पार्टीभित्रको अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।
९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।
आचार्य नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । प्रदेश १ मा आज एमाले सरकार ढल्ने पक्का छ !






