काठमाडौं । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले ४ लाख ४३ हजार ५०३ नगदसहित काठमाडाैंबाट १६ जुवाडे पक्राउ गरेकाे छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे प्रहरीले १६ जनालाई पक्राउ गरेको हो । पक्राउ व्यक्तिसँग प्रहरीले नगद, २० बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकाप घर भइ बस्ने बर्ष ५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिका बस्ने ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा के.सी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रविन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।
यस्तै चन्द्रागिरी नगरपालिका-१३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरन्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् भने चन्द्रागिरी नगरपालिका-१४ का ४१ वर्षीय शंकर थापा, चन्द्रागिरी नगरपालिका-१२का निरन्जन केसी, दैलेख दुन्नु नगरपालिका-११ घर भइ चन्द्रागिरी नगरपालिका-१३ बस्दै आएका ४७ वर्षीय गणेश रसाइली र काभ्रे पाँचखाल नगरपालिका-११ घर भइ हाल दक्षिणकाली नगरपालिका-१ बस्दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




