काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मानित गरिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली गएका थिए । उनले मंगलबार भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवाणेसँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा उनले भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्नेछन् ।
सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रही आएको छ । त्यसअनुसार नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।
शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् । नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए ।




