एजेन्सी । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण पूर्वी एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
यो पटक कार्तिक पूर्णिमा अर्थात् आगामी नोभेम्बर १९, २०२१ (मंसीर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।
यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ । बिहान ११ः३२ मिनेटमा सुरू भएर साँझ ५ः३२ मा याे ग्रहण सकिनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो ।
यी राशिका व्यक्तिहरूले अपनाउनुपर्छ सावधानी
वर्षको अन्तिम चन्द्र ग्रहण वृष राशिमा लाग्ने भएकाले यस राशिका व्यक्तिले ग्रहणको समयमा धेरै होसियार रहनु आवश्यक छ । यी राशिका व्यक्तिहरूलाई स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । यस बाहेक सिंह, वृश्चिक र मेष राशिका व्यक्तिहरूले पनि यस ग्रहणको समयमा स्वास्थ्यको बारेमा धेरै सावधान रहनु आवश्यक छ । यस बाहेक यी राशिका व्यक्तिहरूले केही आर्थिक हानि पनि बेहोर्नु पर्ने हुन्छ । यस ग्रहण अवधिमा कुनै पनि प्रकारको लगानीबाट बच्न आवश्यक छ । अन्यथा तपाईँले ठूलो नोक्सान बेहोर्नु पर्नेछ ।
यी राशिलाई हुनेछ फाइदा
यो चन्द्रग्रहणले केही राशिका लागि राम्रो फल दिनेछ । यस ग्रहणको सबैभन्दा राम्रो प्रभाव तुला, कुम्भ र मीन राशिका व्यक्तिहरूमा पर्नेछ । यी राशिका व्यक्तिहरूकाे आफ्नो काममा सफलता मिल्नेछ र करियरमा आउने बाधाहरू हट्नेछन् । यस अवधिमा ब्यापार ब्यवसायीहरुलाई पनि फाइदा हुने देखिन्छ ।




