रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी झुण्डिएकाे अवस्थामा भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए । कारागारभित्रकै शौचालयमा उनी झुण्डिएको अवस्थामा अरु कैदीले देखेका थिए ।
शौचालयभित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका साहलाई तत्कालै जिल्ला अस्पताल गौरमा लगिएकाे थियाे । अस्पताल पुग्दा उनकाे मृत्यु भइसकेकाे निमित्त प्रमुख यादवले बताए ।
मृतक साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएपछि २०७६ वैशाख ४ मा कारागार चलान भएका थिए । उनकाे मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




