एजेन्सी । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ अर्थात् आज लाग्दैछ । आज लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण पूर्वी एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
यो चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । भारतमा चन्द्र ग्रहण दिउँसो १२ बजेर ४८ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो ।
शुक्रबार राति न्युजिल्यान्डको आकाशमा एउटा दुर्लभ चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिन लागेको हो । द गार्डियनका अनुसार यो चन्द्रग्रहण न्युजिल्यान्डको आकाशमा आज राति ८:२० देखि सुरू हुनेछ । त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ। झण्डै दुई घन्टापछि राति १० बजेसम्म चन्द्रमाको ९७ प्रतिशत ढाकिनेछ ।
आंशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने विश्वास गरिन्छ । विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्रहण भनिन्छ ।
यी राशिका व्यक्तिहरूले अपनाउनुपर्छ सावधानी
वर्षको अन्तिम चन्द्र ग्रहण वृष राशिमा लाग्ने भएकाले यस राशिका व्यक्तिले ग्रहणको समयमा धेरै होसियार रहनु आवश्यक छ । यी राशिका व्यक्तिहरूलाई स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । यस बाहेक सिंह, वृश्चिक र मेष राशिका व्यक्तिहरूले पनि यस ग्रहणको समयमा स्वास्थ्यको बारेमा धेरै सावधान रहनु आवश्यक छ । यस बाहेक यी राशिका व्यक्तिहरूले केही आर्थिक हानि पनि बेहोर्नु पर्ने हुन्छ । यस ग्रहण अवधिमा कुनै पनि प्रकारको लगानीबाट बच्न आवश्यक छ । अन्यथा तपाईँले ठूलो नोक्सान बेहोर्नु पर्नेछ ।
यी राशिलाई हुनेछ फाइदा
यो चन्द्रग्रहणले केही राशिका लागि राम्रो फल दिनेछ । यस ग्रहणको सबैभन्दा राम्रो प्रभाव तुला, कुम्भ र मीन राशिका व्यक्तिहरूमा पर्नेछ । यी राशिका व्यक्तिहरूको आफ्नो काममा सफलता मिल्नेछ र करियरमा आउने बाधाहरू हट्नेछन् । यस अवधिमा ब्यापार ब्यवसायीहरुलाई पनि फाइदा हुने देखिन्छ ।




