काठमाडाैं । केहि दिनअघि नेपाल बन्द गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले आज नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विप्वल कार्यकर्ताले आयल निगम घेराउ गरेका हुन् । उनीहरूले मूल्यवृद्धि फिर्ता नगरे जस्तासुकै आन्दोलनका कार्यक्रम गर्नपनि पछि नपर्ने चेतावनी समेत दिएका छन् ।
नेकपा विप्लव सम्बद्ध जनवर्गीय संगठनहरुले बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले निगमलाई ज्ञापनपत्र बुझाए । जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउन माग समेत गरे । त्यसक्रममा उनीहरुले निगम कार्यलय घेराउ गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अखिल नेपाल महिला संघ, सहिद परिवार संगठनलगायत १६ वटा संगठनका प्रतिनिधिहरू निगम घेराउमा सहभागी भएका थिए ।




