सर्लाही । सर्लाहीको बागमतीमा हरेक वर्ष आयोजना हुदै आएको राजर्षि जनक कप फुटबल प्रतियोगीता यस वर्ष चैत २१ गतेबाट सुरु हुने भएको छ । बागमती नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगीताको पाँचौँ संस्करण यस वर्ष चैत २१ देखि चैत ३० गते सम्म बागमती नगरपालिका ११ को स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन हुने बागमती नगरपालिकाले जनाएको छ ।
प्रदेश २ को शान, राजा जनक प्रतिको सम्मान भन्ने मुल नाराका साथ हरेक वर्ष हुने प्रतियोगीता प्रदेश २ कै सर्वाधिक धनराशीको प्रतियोगीता हो । चैत २१ गतेबाट चैत्र ३० गते सम्म चल्ने प्रतियोगीताको विजेताले रु १० लाख १ हजार र उप विजेताले रु ५ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक बागमती युवा क्लवका महा सचिव सागर मैनालीले जानकारी दिनुभयो ।
प्रतियोगीतामा सर्वोत्कृष्ट हुने सर्लाहीका एक जना खेलाडीलाई १५० सिसिको पल्सर मोटरसाईकल र सर्वाेत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद प्रदान गरिने आयोजकले बताएको छ ।
बागमती नगरपालिकाको आयोजना, एलाइट कंक्रिट उद्योग (एलाइट ग्रुप) को प्रायोजन तथा सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगीता सञ्चालन हुने महा सचिव मैनालीले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागीता जनाउन १० वटा क्लबले नाम दर्ता गराएका आयोजकले बताएको छ ।






