महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका-२ अत्तरामा एक मानिसको खप्पर फेला परेको छ । बाटोमा थुपारिएको माटोभित्र हड्डी मात्र भएको हात र थोरै कपा पनि भेटिएको प्रहरीले जनाएको छ । हड्डी र खप्परको प्रकृति हेर्दा मृत्यु भएको धेरै समय नभएको हुन सक्ने १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले जानकारी दिए ।
गत फागुन १० मा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतीरहेको अवस्थामा ओछ्यानसहितै वेपत्ता पारिएको थियो । प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको समयमा खप्पर भेटिएपछि उनीहरुकै हुनसक्ने आशंका पनि गरिरहेको छ ।
अहिले खप्पर भेटिएको घटनास्थलमा प्रदेशबाट एसएसपी मोसाउद अलिखाँडको टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्याल्य महोत्तरीको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ । डिआइजी सिंहले घटनास्थल प्रहरीको टोली पुगिसकेको र अनुसन्धान कार्य अगाडि बढाएको बताए ।






