एजेन्सी । ऋषभ पन्त इन्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली क्यापिटल्सको कप्तान चयन भएका छन् । दिल्ली क्यापिटल्सले अप्रिल ९ देखि सुरु हुने १४ औं संस्करणको आईपीएलका लागि विकेटकिपर ब्याट्सम्यान पन्तलाई कप्तान घोषणा गरेको हो ।
नियमित कप्तान श्रेयस अयेर घाइते भएपछि दिल्लीले पन्तलाई नयाँ कप्तान बनाएको हो । भारत र इंग्ल्याण्डबीचको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा श्रेयस घाइते भएका थिए । उनको अप्रिल ८ मा बायाँ पाखुराको शल्यक्रिया गरिने भएको छ ।
नयाँ कप्तान चयन भएपछि श्रेयसले आफ्नो पाखुराको चोट लागेको र दिल्लीलाई नयाँ कप्तान चाहिएको बताए । उनले ऋषभ त्यसका लागि सही व्यक्ति भएको समेत बताएका छन् । दिल्लीका प्रमुख तथा को ओनर किरणकुमार गान्धीले श्रेयसको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
श्रेयसको कप्तानीमा दिल्ली गत सिजन आईपीएल फाइनल खेलेको थियो । यस्तै २३ वर्षीय विकेटकिपर ऋषभ पन्तले दिल्लीलाई नेतृत्व गर्नु सधैं आफ्नो सपना भएको र सपना पूरा भएको बताए । उनले टिम प्रति आभारी रहेको बताए ।
यस्तै दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले अघिल्लो दुई वर्ष श्रेयासको नेतृत्वमा दिल्लीले राम्रो गरेको र अब युवा खेलाडी ऋषभका लागि अवसर रहेको बताए । नयाँ सिजनको आईपीएल ऋषभका लागि कप्तानीको डेब्यु हुनेछ । उनले यसअघि दिल्लीको स्टेट टिमलाई कप्तानी गरेका थिए ।






