सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षतामा पत्रकार टंकबहादुर क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको छ । आइतवार जिल्ला सदरमुकाम मलंगवामा भएको उम्मेदवारी दर्ता कार्यक्रममा सर्वसम्मत् रुपमा क्षेत्रीको मात्रै उम्मेदवारी परेपछि क्षेत्री अध्यक्षमा निर्विरोध चुनिनु भएको हो ।
लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका हरिवन नगरपालिका–८, चापिनी निवासी पत्रकार क्षेत्री हाल नागरिक दैनिकका सर्लाही संवाददाता र उज्यालो अभियान दैनिकका अध्यक्ष हुनुहुन्छ । अध्यक्षमा निर्विरोध भएका पत्रकार क्षेत्रीले आफ्नो तीन वर्षे कार्यकाल भरी श्रमजीवी पत्रकारहरुको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यस्तै, कार्य समितिको उपाध्यक्षमा अनवर अहमद्, महिला उपाध्यक्षमा पुस्तिका के.सी. (पुष्पा), सचिवमा सुनिल कुमार ठाकुर, सहसचिवमा घनश्याम सिंह, समावेशी सहसचिवमा स्वस्तिमा अधिकारी, कोषाध्यक्षमा अच्यूतम सापकोटा, महिला सदस्यमा चाँदनी कुमारी कुशवाहा, दलित सदस्यमा क्षितिज विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा घनश्याम बलम्पाकी, मधेसी सदस्यमा फेकन महतो, अन्य समावेशी सदस्यहरुमा पंकजकुमार कर्ण (सन्जु) निर्विरोध चयन हुनु भएको छ ।
४ जना खुल्ला सदस्यमा भने ६ जनाको उम्मेदवारी परेको छ । जसमा प्रकाश मैनाली, लालबाबु राय, मुकेश झा, ज्योति कुमार लामा, राकेश कुमार गुप्ता, मनोज यादव (ख) गरी ६ जनाको उम्मेदवारी परेको हो । यसमा सर्वसम्मतीको प्रयास जारी रहेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।
यसैगरी, २ जना केन्द्रीय परिषद् सदस्यमा कृष्णकुमार एस्माली र पार्वती पाख्रिन तथा ४ जना प्रदेश परिषद् सदस्यमा रोशनी गिरी, विद्यानन्द राय, अर्चना झा र सत्यप्रकाश यादव (एसपी) चयन हुनु भएको छ । उम्मेदवारी दर्ताका क्रममा खुल्ला सदस्यमा बाहेक अन्य पदमा एकल उम्मेद्वारी परेर निर्विरोध भएपनि चैत २५ गते निर्वाचनका दिन औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने छ ।
सोही दिन प्रदेश तथा केन्द्रीय समितिका पदाधिकारीहरुलाई जिल्लाबाटै मतदान गरिने व्यावस्था पनि रहेको छ । पेशागत तथा व्यावसायिक पत्रकारिता गर्नु भएका क्षेत्रीको निर्विरोध चयन पछि सर्लाहीका पेशागत तथा व्यावसायिक पत्रकारहरुले पनि राहत महसुस गर्ने भएका छन् ।






