काठमाडौं । युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन् ।
रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो ।
युक्रेनको सेना र रूसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन दोनबासमा भने कहिल्यै युद्ध समाप्त भएन। युद्धमा अहिलेसम्म करिव १४ हजार मानिसहरूको मृत्यु भएको छ ।
को हुन् भोलोदिमिर जेलेन्स्की ?
भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् ।
जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए ।
यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो। उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए । सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो ।
सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए। जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ ।
उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ। तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन् । जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो। दुबैका सन्तान पनि छन् ।
उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे ।
राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ । यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चालेका थिए ।




