एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लामा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । श्रीमानलाई पहिले निद्राको औषधि खुवाएर बेहोस बनाइएपछि पेट्रोल छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ ।
बागपतको बिनौली थाना क्षेत्रअन्तर्गत बिजवाडा गाउँका राजीव आफ्नी श्रीमती निशा उर्फ निशूसँग बस्दै आएका थिए । प्रहरीका अनुसार निशाको आफ्नै छिमेकी विक्रान्तसँग प्रेम सम्बन्ध रहेको थियो । श्रीमान राजीवले उक्त सम्बन्धको लगातार विरोध गर्दै आएका कारण उनीहरूका लागि बाधा बनेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार गत जुन २० को राति निशा र विक्रान्तले योजनाबद्ध रूपमा राजीवको हत्या गरेका हुन् । निशाले पहिले श्रीमानलाई निद्राको औषधि खुवाएर गहिरो निद्रामा सुताइन् । त्यसपछि प्रेमी विक्रान्तलाई घरमा बोलाएर दुवैले सुतिरहेका राजीवमाथि पेट्रोल छर्केर आगो लगाएका थिए ।
आगोले जलेर गम्भीर घाइते भएका राजीवको चिच्याहट सुनेपछि परिवारका सदस्य घटनास्थलमा पुगेका थिए । तर त्यतिबेलासम्म उनी करिब ८० प्रतिशत जलेका थिए । उनलाई तत्काल अस्पताल लगिए पनि अवस्था गम्भीर भएपछि उच्च उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको थियो ।
सात दिनसम्म जीवन र मृत्युबीच संघर्ष गरेका राजीवको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले निशा र उनका प्रेमी विक्रान्तलाई पक्राउ गरेको थियो । प्रारम्भमा हत्याको प्रयास अन्तर्गत मुद्दा दर्ता गरिएपनि राजीवको मृत्यु भएपछि मुद्दालाई हत्या सम्बन्धी कसुरमा रूपान्तरण गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






