काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गाजियाबाद रेलवे स्टेशनमा खल्तीमा राखेको मोबाइल फोन अचानक विस्फोट हुँदा २६ वर्षीय युवक गम्भीर रूपमा घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गत अगस्ट ८ गते साँझ ग्रेटर नोएडाको दनकौर निवासी मोहम्मद मजिद गाजियाबाद रेलवे स्टेशनबाट घर फर्किँदै थिए । सोही क्रममा उनको खल्तीमा रहेको मोबाइल फोन अचानक तात्न थालेको थियो । फोन निकाल्न नपाउँदै विस्फोट भएको बताइएको छ ।
विस्फोटपछि उनको दुवै हात, शरीरको तल्लो भाग र गुप्तांगमा गम्भीर चोट लागेको जनाइएको छ । घटनापछि स्टेशनमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो । आसपासका मानिसहरूले तत्काल उद्धार गरी उनलाई अस्पताल पुर्याएका थिए ।
उपचारपछि मजिद अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तर घटनापछि उनको परिवारले मोबाइल फोनको सुरक्षा र गुणस्तरबारे प्रश्न उठाएको छ । परिवारका अनुसार विस्फोट भएको सामसङको मोबाइल करिब एक महिनाअघि मात्र खरिद गरिएको थियो । ग्रेटर नोएडास्थित द ग्रान्ड भेनिस मलमा रहेको डीजी कम स्टोरबाट फोन खरिद गरिएको बताइएको छ ।
मजिदका अनुसार मोबाइल सामान्य रूपमा चलिरहेको थियो र विस्फोट हुनुअघि कुनै ठूलो समस्या देखिएको थिएन । विस्फोटपछि मोबाइलका टुक्रा छरिनुका साथै उनको कपडामा समेत आगो लागेको उनले बताएका छन् ।
यद्यपि, मोबाइलको कुन मोडल थियो र विस्फोटको वास्तविक कारण के हो भन्ने अहिलेसम्म खुलेको छैन । परिवारले घटनाको प्राविधिक जाँच गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
परिवारले घटनाबारे सम्बन्धित निकायमा उजुरी गर्ने तयारी समेत गरेको जनाइएको छ । सामाजिक सञ्जालमा सक्रिय एक इन्फ्लुएन्सरका अनुसार घटनाबारे सामसङको आधिकारिक निकायमा समेत उजुरी गरिएको दाबी गरिएको छ । घटनाबारे कम्पनी वा सम्बन्धित निकायबाट विस्तृत प्राविधिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।






