बीबीसी । युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन् । अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन् । उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन् ।
गति कम
रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ । तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ । तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन् ।युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नु पर्ने महासचिवको माग सुनेको छ ।
वार्तामा के भयो ?
यसैबीच, युक्रेन-बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ । वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन । तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए ।
रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र “आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने” सहमति भएको छ । रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ । तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ ।




