काठमाडौं । शनिबारदेखि टियु क्रिकेट मैदानमा हुने भनिएको त्रिदेशीय सिरिज टि-२० क्रिकेट प्रतियोगिता अन्योलमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै देशका १४ वटा जिल्लामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै खेलकुदका गतिविधि लगायतका कार्यहरु नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनसँगै बैशाख ४ गते शनिबारबाट सुरु हुने भनिएको त्रिदेशीय सिरिज भने अन्योलमा परेको छ । त्रिदेशीय सिरिजमा आयोजक नेपालसँगै, नेदरल्यान्ड्स र मलेसिया छन् । त्रिदेशीय सिरिजको तयारी कार्य पनि करिब सकिएको अवस्था छ । नेदरल्यान्ड्स र मलेसिया नेपाल आइसकेका छन् । सिरिज सुरु हुन करिब एक दिन बाँकी रहँदा स्वास्थ्य मन्त्रालयको यस्तो निर्देशनले भने अब के हुन्छ ? यसको टुंगो लागेको छैन ।
काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोनाको अति प्रभावित जिल्ला भनेर स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरेको छ । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बन्न स्वास्थ्य मन्त्रालयले सबैलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कुनै पनि हालतमा सिरिज गर्न नहुने बताउँछन् । प्रवक्ता गौतम यस्तो महामारीमा खेलकुदका कुनै पनि गतिविधि गर्न नहुने भन्छन् । ‘२५ जना भन्दा बढि भेला नहुनु भनेको छ । कसरी खेलाउछ हेरौला नी ! जे पायो त्यही गर्छु भनेर हुन्छ ? कानुन त लाग्छ होला नी ? प्रतियोगिता गरेमा कारबाही त भइहाल्छ । तर कोरोनाले मर्छ की बाँच्छ भन्ने हो ।’
क्यानले बुधबार मात्रै १५ सदस्य नेपाली क्रिकेट टिमको घोषणा गरेको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छन् ।
सिरिज डबल राउण्ड रोविनको आधारमा सञ्चालन गर्ने तयारी छ । शीर्ष दुई देशले सिरिजको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । क्यानले यसअघि नै सिरिजको खेल तालिका सार्वजनिक समेत गरिसकेको थियो । वैशाख ४ गतेसम्म सञ्चालन हुने सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।
५ गते नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ६ गते सोमबार नेपालले मलेसियासँग खेल्नेछ । लिग चरणकै खेलमा ७ गते मंगलबार नेपालले नेदरल्यान्डसँग खेल्ने तालिका छ । ८ गते नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग ९ गते खेल्नेछ । फाइनल खेल ११ गते हुनेछ ।






