सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका नागरिकहरुको घरघरमै पुगेर व्यक्तीगत घटना दर्ता तथा समाजिक सुरक्षा भक्ता वितरण गराउन सुरु गरेको छ । नगरपालिकाले घर घरमै पुगेर व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भक्ता उपलब्ध गराउने काम सुरु गरेको हो ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग संगको समन्वयमा नगरपालिकाले घर घरमै पुगेर व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भक्ता उपलब्ध गराउन आज(शुक्रबार)बाट सुरु गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो ।
व्यक्तीगत घटना दर्ता (जन्म, मृत्यु, बसाई सराई, बिबाह र सम्बन्ध विच्छेद) तथा समाजिक सुरक्षा भक्ता घर घर मै पुगेर वितरण सुरु गरिएकोले आफुलाई पाएक पर्ने गाउँको केन्द्रमा उपस्थित भई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र नगरपालिकाको सहभागी टोलीलाई आवश्यक सहयोग गरिदिन पनि नगरपालिकाले एक सुचना जारी गरि अनुरोध गरेको नगरउप प्रमुख शान्ती लामाले बताउनु भयो ।
नगरपालिकाले एकीकृत घुम्ती शिविरमार्फत नगरबासीलाई घरआँगन मै पुगेर सेवा प्रवाह गर्ने र “गाउँ गाउँमा सिंह दरवार” आएको नगरबासीलाई महसुस गराउने कामको थालनी गरेको लालबन्दी नगरपालिका वडा नमबर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।
जिल्लाको सबै भन्दा ठुलो र भौगोलिक जटिलता भएको नगरपालिका भएका कारण नगरबासीलाई कार्यलय तथा नगरको सदरमुकाम सम्म आएर सेवा लिन समस्या भएको अवस्थालाई मनन् गर्दै नगरले एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रवाह सुरु गरेको नगर प्रवक्ता श्रेयठले बताउनु भयो ।
“लालबन्दी नगरपालिकाबासी जनताको समस्यालाई लक्षित गरी सेवा प्रवाह गर्ने उद्देश्यले नगरले एकीकृत घुम्ती शिविरमार्फत नागरिकका घरआँगनमै पुगेर सेवा प्रवाह गर्न लागेको हो ” नगर प्रमुख खड्काले बताउनुभयो ।
नागरिकको माझमा जादाँ उनीहरूको समस्या एवम आवश्यकतालाई बुझ्ने र पहिचान पनि गर्ने नगर उप प्रमुख लामाले बताउनुभयो । नागरिक र जनप्रतिनिधिहरु विचको सम्बन्धलाई जीवन्त राख्न निर्वाचित भएको वर्षदेखि नै यो अभियान निरन्तर सञ्चालन गरिरहेको भएपनि यस वर्षथप व्यवस्थीत रुपमा घुम्ती शिविर सुरु गरिएको हो । जसबाट नगरबासी प्रत्यक्ष लाभान्वीत हुनेछन् ।






