एजेन्सी । बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा शनिबार बस पोखरीमा खसेको हो । दुर्घटनामा ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र आठ महिला रहेका छन् ।
बारिशाल डिभिजनका आयुक्त एमडी शौकत अलीले चालकको लापरवाहीले दुर्घटना भएको बताएका छन् । प्रहरीका अनुसार बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हो ।
शनिबार बिहान ९ बजे पिरोजपुरको भण्डारियाबाट बशर स्मृति यातायातको बस बरिशालका लागि प्रस्थान गरेको थियो । बसमा ५२ जना यात्रु सवार थिए । बिहान १० बजेतिर बरिशाल खुल्ना राजमार्गको छत्रकाण्डमा बस सडक छेउको पोखरीमा खसेको बताइएको छ ।




