एजेन्सी । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ । डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा विरामीका लागि शय्याको अभाव भएको छ ।
सरकारी तथ्यांक अनुसार सन् २०२३ मा हालसम्म डेंगुका कारण २९३ जनाको मृत्यु भइसकेको छ भने करिब ६१ हजार ५०० जना संक्रमित भएका छन् ।
बंगलादेशको स्थानीय पत्रिका द ढाका ट्रिब्यूनका अनुसार राजधानी ढाकामा डेंगु ज्वरोले ठूलो संख्यामा मानिसहरूलाई त्रसित बनाएको छ । विरामीले उपचार समेत पाउन नसकेको अवस्था छ ।
वर्षामा बढी हुन्छ यस्ता रोगको जोखिम, यी विषयमा हुनुस् सर्तक
स्वास्थ्यमन्त्री जाहिद मलिकले बिग्रँदै गएको अवस्थालाई लिएर सरकारले व्यापक सचेतना अभियान चलाएको बताए । सरकारले लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि सचेतना अभियान र वर्षापछि लामखुट्टेको लार्भा हटाउने प्रयास लगायत विभिन्न पहल गरेको छ ।
रोयटर्ससँगको कुराकानीमा पीडितले आफ्ना परिवारका सदस्यहरूको ढाकाको सरकारी अस्पतालमा उपचार भइरहेको बताइन्, जहाँ उनकी आमा र बहिनीले ओछ्यान समेत पाउन सकेनन् ।
शैयाको अभावमा दुवैको भुइँमा उपचार भइरहेको छ । अगस्ट र सेप्टेम्बरको अन्त्यसम्ममा डेंगुको प्रकोप अझै बढ्ने अवस्थामा अवस्था झन् विकराल हुने विज्ञहरू बताउँछन् ।
सरकारी तथ्याङ्क अनुसार यस वर्ष मृत्यु हुनेको संख्या बढेको छ । उल्लेखनीय कुरा के छ भने, यसअघि स्वास्थ्य सेवा महानिर्देशनालयले जुलाईमा विरामीको संख्यामा ठूलो वृद्धि भएको बताएको थियो ।






