बारा । मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन एवम् सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न गरेको देखिएपछि प्रमुख प्रशासकीय अधिकृत समातिएका छन् ।
आ.व. २०७७/०७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन गरेका सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सव-इन्जिनियर उपेन्द्र कुशवाहा फन्दामा परेका हुन् ।
यस्तै जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका वडा नं. ३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नं. ३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाई उनीहरुले रकम निकासा गरेका थिए ।
सैतीस लाख त्रियानब्बे हजार तीन सय बयानब्बे रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन साथै निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना माग दावी सहित मुद्दा दर्ता गरिएको छ ।






