सिरहा । सिरहाको मिर्चैयाको कटारी चोकमा रहेको एनएमबी बैंकमा कार्यरत एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । उनी आज बिहान सुतेको कोठामा मृत फेला परेको बताइएको छ ।
प्रहरीका अनुसार ५७ वर्षीय नेत्रबहादुर गुरुङ बैंकको शाखा कार्यालय रहेको भवनको दोस्रो तल्लाको गार्ड कोठामा मृत फेला परेका हुन् ।
महोत्तरीको बर्दिबास घर भएका गुरुङ बैंक रहेको दोस्रो तल्लामा भित्रबाट फलामको चेट गेटमा ताल्चा लगाएको अवस्थामा सुत्ने कोठामा आज बिहान भेटिएका हुन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी भित्रबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको बताए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले गुरुङ मुटुको बिरामी रहेको विवरण प्राप्त भएको उल्लेख गरेका छन् ।




