काठमाडौं । रौतहटको अरुवा पुलदेखि पर्साको दसौंतासम्म नारायणी सिंचाइ गण्डक नहर अन्तर्गत ६५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । यसैबीच स्थानीय ग्राभेल प्रयोग गर्नुपर्नेमा सो नगरी अत्यधिक माटो र बालुवा भएको ग्राभेल प्रयोग भइरहेको आरोप लगाएका छन् ।
अहिले गण्डक नहर अन्तर्गत पर्सामा पाँच किलोमिटर मात्र गण्डक नहरको सडक कालोपत्र हुन बाँकी छ । सो बाहेक सडक कालोपत्र भइसकेका छन् । यो सडकखण्डको कालोपत्र गर्ने ठेक्का शिवालयरदिवा जेभीले लिएको छ ।
भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा एक अर्बको लागतमा गण्डक नहर कालोपत्र गरिंदैछ । रौतहटको अरुवा पुलदेखि पर्साको दसौतासम्म ६१.९ किलोमिटर सडक बनाउने क्रममा अहिले अनियमितता भएको पाइएको हो ।
कालोपत्र गर्ने क्रममा ग्राभेल बिछ्याउँदा जगरनाथपुर गाउँपालिकाको गण्डक नहरस्थित हनुमान मन्दिरदेखि दसौतासम्मको क्षेत्रमा अनियमितता भएको स्थानीयको आरोप छ ।
ठेकेदारले ग्राभेल बिछ्याउने क्रममा ६५ प्रतिशत गिट्टी, ३५ प्रतिशत मसिनो गिट्टी र बालुवा भएको ग्राभेल प्रयोग गर्नुपर्नेमा सो नगरी अत्यधिक माटो र बालुवा भएको ग्राभेल प्रयोग भइरहेको स्थानीयले आरोप लगाएका हुन् ।




