धनुषा । कक्षा १२ मा अध्ययनरत १८ वर्षीया प्रतिभा कुमारी सहनी विदेह नगरपालिकाको नगर प्रमुख बनेकी छन् । बालिकाहरूलाई सशक्तीकरण गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपालको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत सोमबार प्रतिकात्मक रूपमा उनलाई विदेह नगरपालिकाको नगर प्रमुख बनाइएको हो ।
धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफू बसेको कुर्सी खाली गरेर प्रतिभालाई नगर प्रमुख पदको जिम्मेवारी हस्तान्तरण गरेका थिए । नगर प्रमुखको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रतिभाले जीवनमा नगर प्रमुख बन्छु भन्ने कुरा कहिले पनि आफूले नसोचेको र आज आफू नगर प्रमुखको कुर्सीमा बिरजमान भएपछि आफूलाई भाग्यमानी ठानेको बताइन् ।
उनले आफू सुरु देखि नै शिक्षक बन्न रुचाएको बताइन् । केही बेरका नाटकीय अभ्यास गरी नगर प्रमुख बनेकी प्रतिभाले नगरपालिका कार्यालयमा उपस्थित कर्मचारीहरूसँग नगरपालिकाले गर्ने कामकाज, हालसम्म नगरमा भएका कामकाज र आम नागरिकको समस्याका बारेमा जानकारी लिएकी थिइन् ।
उनलाई विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जीव साहले नगर प्रमुखको काम कर्तव्य र हालसम्म नगरपालिकामा भएका विकास निमार्णको कामका बारेमा जानकारी गराएका थिए । केही बेरका लागि नगर प्रमुख भएका प्रतिभालाई विदेह नगरपालिकाका किशोरीहरूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिकाका किशोरीहरूले भोग्दै आएको समस्याको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उठेका विषय वस्तुहरूको जवाफ दिँदै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नगरको स्वरूप फेरिने किसिमले कामकाज अगाडी बढाइएको बताए । उनले प्राप्त १० करोड ७१ लाख रकम बजेट मध्ये चार करोड २० लाख बजेट शिक्षा क्षेत्रको लागि मात्रै छुट्ट्याएको बताए ।
उनले यस आर्थिक वर्षमा कृषि विद्युतीकरणमा २ करोड रकम छुट्ट्याएको र अगामी दिनमा किसानलाई सिचाइको समस्या समाधान हुने बताए । उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कामकाज भइरहेको र नगरको ९ वटै वडामा स्वास्थ्य चौकी रहेको बताए ।




