रौतहट । करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको गौरको बरहवा ताल अहिले जीर्ण अवस्थामा पुगको छ । नेपाली सेनाको सहयोगमा निर्माण तथा सौन्दर्यीकरण गरिएको पर्यटकीय सम्भावना बोकेको बरहवा ताल सम्बन्धित निकायको बेवास्ताका कारण कुरुप बन्दै गएको छ ।
भारतीय बजारसँग सीमा जोडिएको सिमावर्ती क्षेत्र गौरमा भारतीय पर्यटकलाई समेत भित्राएर बजार प्रर्वद्धन गर्न सक्ने सम्भावना रहँदा रहँदै पनि एउटा पर्यटकीय क्षेत्र खण्डहरमा परिणत भएको छ । तालमा स्थानीयले फोहर फाल्न थालेपछि दुर्गन्धित बनेको छ ।
करोडौं रुपैयाँ लगानी भएको र सम्भावना बोकेको एउटा ताललाई संरक्षण गर्न सबैको चासो आवश्यक छ । ताल संरक्षणको जिम्मेवारी पाएको समितिले खासै काम गर्न सकेको छैन ।
ताल संरक्षण समिति मात्र होइन गौर नगरपालिका र स्थानीयले पनि बरहवा तालको सौन्दर्यीकरण र संरक्षणमा चासो दिएका छैनन् । जथाभावि रुपमा तालका किनारहरुमा फोहर फाल्ने, लुगा धुने कामले गर्दा ताल प्रदुषित बनेको छ ।
यसैबीच अधुरो काम तत्काल गराउनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा गौर नगरपालिकाका पुर्व मेयर अजय कुमार गुप्ताले सम्बन्धीत निकायसँग आग्रह गरेका छन् । २०७४/७५ सालमा आश्रय निर्माण सेवाले बरहवा तालको सौन्दर्यकरणको लागि ठेक्का लिएको थियो ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्साबाट सो निर्माण सेवाले तालको काम ठेक्का लिएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्सालाई पत्र लेख्दै गुप्ताले काम तत्काल सक्नका लागि आग्रह गरेका छन् ।





