रौतहट । रौतहटको चन्द्रपुरमा अज्ञात समूहले घरमा लुटपाट गरेका छन् । ४ जनाभन्दा बढिको समुहमा आएका लुटेराहरुले चन्द्रपुर नगरपालिका ५ निवासी सोनेलाल चौधरीको श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउँदै लुटपाट गरेका हुन् ।
चौधरीले घरमा लक्ष्मी माताको पूजा गर्दा राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी अज्ञात समूहले लुटेर लगेको पीडित परिवारले बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चौधरीको श्रीमतीलाई टाउकोमा चोट लागेको छ ।
लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासि आक्रमण गरेको पीडित परिवारले बताएका छन् । इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरले लुटेराको खोजी भइरहेको जनाएको छ ।




