बीबीसी । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था “दयनीय र जोखिमपूर्ण” बनेको चेतावनी दिएको छ । उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ ।
पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास “निरन्तर भइरहेका गोलाबारी र बमबारी” ले झन् बिगारेको र अल-शिफाले “अस्पतालको रूपमा काम गर्न छोडेको” डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।
त्यहाँ उपचाररत जोखिममा रहेका नवजात शिशुहरूलाई उक्त अस्पतालबाट अर्को अस्पतालमा सार्ने काममा “सघाउन तयार रहेको” इजरेली सेनाले दोहोर्याएको छ ।
तीनमध्ये एकको ज्यान जाँदै
महिना नपुगी जन्मेका प्रत्येक तीनमध्ये एक शिशुको बिजुली अभावका कारण ज्यान जाने गरेको अल-शिफा अस्पतालका शल्यक्रिया प्रमुख मारवान अबु सादाले बीबीसीलाई बताए ।
यसअघि इन्क्यूबेटरमा राखिएका नवजात शिशुहरूलाई बिजुली अभावका कारण शल्यचिकित्सा वार्डका शय्याहरूमा सारिएको छ । थुप्रै नवजात शिशुहरूले पाउनुपर्ने सेवा नपाइरहेको भन्दै उनले “ती सबैको ज्यान जान सक्ने डर भएको” बताए ।
यसअघि बीबीसीसँग कुरा गर्दै इजरेली राष्ट्रपति आइजक हर्टसोगले अल-शिफा अस्पतालमा ‘हमास र त्यसका मुख्यालयहरू रहेका’ आरोप दोहोर्याएका थिए । हमास समूहलले अस्पताललाई सैन्य उद्देश्यका लागि प्रयोग गरेको अस्वीकार गर्दै आएको छ ।
डा. अबु सादाले पनि इजरेली आरोपलाई “ठूलो झूट” को सङ्ज्ञा दिँदै नजिक रहेका फौजहरूलाई आउन र अस्पतालको निरीक्षण गर्न “खुला निम्तो” दिएका छन् ।
अस्पतालभित्र दुई हजारभन्दा बढी
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अल-शिफा अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अस्पतालभित्र अझै कम्तीमा २,३०० जना रहेका जनाएको छ ।
त्यो सङ्ख्या बारे डब्ल्यूएचओलाई जानकारी गराइएको र उसले सामाजिक सञ्जाल एक्समा त्यसलाई पोस्ट गरेको हो । मन्त्रालयको अद्यावधिक जानकारी अनुसार ६०० देखि ६५० जना उपचाररत रहेका छन् भने २०० देखि ५०० स्वास्थ्यकर्मी र आश्रय लिएका विस्थापितहरू करिब १,५०० जना छन् ।
बिजुली, पानी र खानेकुराको अभावले जीवन “तत्काल जोखिममा रहेको” पनि मन्त्रालयले जनाएको छ । “तत्काल युद्धविराम” गर्न र “सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई जोगाउन” विश्व स्वास्थ्य सङ्गठनले फेरि आह्वान गरेको छ ।
डक्टर्स विदआउट बोर्डर्सले गए रातियता अल-शिफा अस्पतालस्थित आफ्ना कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ । अल-शिफा अस्पताल गाजा स्ट्रिपमा रहेकामध्ये सबैभन्दा ठूलो अस्पताल हो ।






