महोत्तरी । प्रहरीको नियन्त्रणबाट भाग्न खोजेपछि प्रहरी चलाएको गोली लागि दुई जना डकैतहरु घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका हुन् ।
जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. २ का ३२ वर्षीय शक्ति पासवान र सोही स्थानका ३३ वर्षीय अजय पासवान घाइते भएका हुन् । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।
जलेश्वरतर्फ प्रहरीको गाडीमार्फत ल्याउने क्रममा फरार हुन खोजेपछि प्रहरीले गोली चलाएको र उनीहरु घाइते भएको महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए ।
प्रहरीले चाइनिज पेस्तोलबाट गोली चलाउँदा शक्ति कपुर पासवान र अजय पासवानको बाँया खुट्टाको तिघ्रामा गोली लागि घाइते भएको एसपी मल्लले जानकारी दिए । उनीहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।
उनीहरुमाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले जिल्ला रौटहट गरुडा नगरपालिका वडा नं. ४ पानी ट्याङकीबाट शक्ती कपुर पासवानको साथबाट कटुवा पेस्तोल थान १ र सो मा लाग्ने गोली थान ४ (राउण्ड) समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तो छ आरोप
उनीहरुको समूहले कातिक २० गतेका दिन जलेश्वर नगरपालिका वडा नं. ८ सानो रतवाराका भुबनेश्वर चौधरीको घरमा डकैटी गरेका थिए । मूलढोका लगायतको घरको ढोकाहरुको ताल्चा फुटाइ ७/८ जनाको डाका समूह हात हतियारसहित घरमा प्रबेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी, शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरि डकैती गरेका थिए ।
त्यस्तै, उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी रगताम्य पारी घाइते बनाएको र शैल देबीलाई काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम लुटेर लगेको आरोप रहेको छ ।




