महोत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुई वटामा नागरिकता एउटै नम्बर मिल्नु सम्भव हुने कुरा भएन । तर, महोत्तरीमा यस्तै अनौठो घटना सार्वजनिक भएको छ ।
महोत्तरीस्थित बर्दिवास २ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको हो । संयोगले नाम र बुवाको नाम मिले पनी उनिहरु फरक फरक ब्यक्ति हुन् ।
२०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास ८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास २ का दलबहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो ।
अचम्म त कहाँनिर छ भने उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिती, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक फरक मितिमा भएको देखिएको छ ।
अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास २ बस्ने भुजेलको नागरिकता एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।
बर्दिवास २ को वडा कार्यालयले पूर्ण भूमिहीनको सुची बनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिए पछि खोजीको विषय बनेको थियो ।
पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास २ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो ? भन्ने विषयमा स्थानियहरु आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए ।
नाताले मामा पर्ने पुर्ण भुमहिन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाएपछि अचम्ममा परेका थिए ।
सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजी कै क्रममा हात्तिलेट बस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सबै मिलेपछि अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छ्न् ।
तर एकबहादुरका मामा पनि हात्तिलेटबाट नै बसाई सरेर बर्दिवास २ मा आएका थिए । तत्कालिन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सबै मिलेपछि पुर्ण भुमिहिन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिती सिर्जना भएको छ ।
अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास बैकंबाट कर्जा समेत लिएको बुझिएको छ । एउटै नागरिकता लिएर दुई फरक फरक ब्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ । न्युज कारखानाको सहयोगमा




