काठमाडौं । मिहिनेत गर्नेलाई भाग्यले साथ दिन्छ भन्ने गरिन्छ जुन धनुषाको छिरेश्वरनाथकी २७ वर्षीया विभा महासेठका लागि सत्य सावित भएको छ । उनी भन्छिन्- ‘मिहिनेतले नै भाग्य बनाउँदो रहेछ ।’
उनी लोकसेवा आयोगले लिएको जनरल नर्सिङ समूह, पाँचौं तह (स्टाफ नर्स) को परीक्षामा खुला, मधेशी र महिला तीनै समूहमा टपर घोषित भएकी हुन् । अहिले उनलाई भाग्यमानी भन्दै बधाई दिनेहरूको फोन र म्यासेज आइरहेको छ ।
विभालाई लाग्छ, भाग्यमानी भनेर दिइने यो सबै बधाईको पृष्ठभूमिमा कुनै संयोग वा भाग्यजस्तो केहि नभएर उनको कडा मिहिनेत छ । यही फागुन ५ मा संघीय लोकसेवा आयोगको एक नम्बर सिफारिसमा परेकी हुन्, उनी ।
यस्तै वाग्मती प्रदेशको लिखित परीक्षामा पनि उनको नाम निक्लेको छ, जहाँ अझै अन्तर्वार्ता हुन बाँकी छ । लामो समयको पर्खाइपछि जतै पनि खुलेको अवसरको ढोका देख्दा विभा स्वयं त दंग थिइन् नै, उनका चिनजान र साथीसंगतिहरू पनि चकित परेका छन् ।




