बारा । निजगढ नगरपालिका ४ कछडिया टोलस्थित बकैया खोलाको पश्चिम नदीउकास वनक्षेत्रमा मृत अवस्थामा संरक्षित पाटे बाघ मंगलबार बिहान फेला परेको छ । सो वनक्षेत्र कछडिया सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रभित्र पर्ने जनाइएको छ ।
मृत अवस्थामा फेला परेको सो पाटेबाघ लगभग दुई साताअघि बिहानीपख बकैया खोला किनारमा पानी खान आएको देखेपछि स्थानीयहरू भागेका थिए । त्यस बेला बाघ मानिसलाई आक्रमण गर्न सक्ने अवस्थामा नरहेको स्थानीयले बताएका छन् ।
खोला आसपासका वनक्षेत्रमा बाघ आएको बस्तीमा हल्ला फैलिएपछि त्यस क्षेत्रमा गोठालाहरू समेत जान छाडेका थिए । करिव ८ वर्ष उमेर पुगेको सो पाटेबाघको के कति कारणले मृत्यु भएको हो भन्ने खुल्न नसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
मृत अवस्थामा फेला परेको उक्त पाटेबाघलाई स्वास्थ्य प्राविधिकले घटनास्थलमा हेर्दा केहि घाउचोट नदेखिए पनि आवश्यक कानूनी प्रक्रिया पूरा गरी शल्यपरीक्षणको लागि बाघको आवश्यक अङ्ग लगी बाँकी अङ्गलाई डिवका, सिमराको परिसरमा गाडिएको सबडिभिजन वन कार्यालय, निजगढले जनाएको छ ।




